आठ महिनामा साढे १५ अर्बको मोबाइल आयात
भन्सार विभागका अनुसार गत साउनदेखि फागूनसम्ममा आयात भएका दूरसञ्चार उपकरणमध्ये मोबाइल फोनको हिस्सा सबैभन्दा बढी छ । यस अवधिमा साढे २० अर्बका दूरसञ्चार उपकरण आयात भएका छन् । महँगा मोबाइल फोनको प्रयोग बढै गएकाले आयात वृद्धि भएको हो ।
गत आर्थिक वर्षको यसै अवधिमा ११ अर्ब ४३ करोड बराबरका मोबाइल फोन आयात भएकामा यसपाली भने आयात बढेको हो । विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ८ महिनाभित्र ४० लाख २३ हजार ८ सय ५८ मोबाइल नेपाल भित्रिएका छन् । गत वर्षको यसै अवधिमा भने ३३ लाख ७६ हजार १ सय ९१ मोबाइल सेट नेपाल भित्रिएका थिए ।
भन्सारमा घोषित मूल्यका आधारमा गत आठ महिनामा साढे १५ अर्बका मोबाइल फोन नेपाल भित्रिएको देखिएपनि बजार मूल्यका आधारमा भने मोबाइल कारोबार धेरै हुने आयातकर्ता बताउँछन् । मोबाइल फोन आयातकर्ता संघका महासचिव अमित अग्रवालका अनुसार साढे १५ अर्बका फोन आयात भएपनि नेपाली बजार मूल्यका आधारमा कारोबार भने ८ महिनामै २० अर्बभन्दा माथि भइसकेको बताउँछन् । ‘भन्सार मूल्यमा नाफा र कर जोडेर हेर्दा यसवर्ष मोबाइलको बजार ३० अर्बभन्दा बढीको हुने देखिन्छ,’ उनले भने ।
नेपालमा सबैभन्दा धेरै मोबाइल फोन चीनबाट आयात भएका छन् । गएको आठ महिनामा चीनबाट मात्र ३४ लाख ९० हजार मोबाइल फोन आयात भएका छन् । चीनपछि धेरै मोबाइल आयात हुने मुलुकमा भियतनाम पर्छ । त्यहाँबाट ८ महिनायता २ लाख ८८ हजार मोबाइल सेट आयात भएका छन् । भारतबाट भने २ लाख ३५ हजार थान मोबाइल आयात भएको विभागको तथ्याङमा छ ।
विश्वस्तरिय सबै ब्रान्डका मोबाइलको उत्पादन चीनमा हुने भएकाले त्यहाँबाट आयात धेरै देखिएको संघका अध्यक्ष एवं सामसङ मोबाइलका बिक्रेता दिपक मलहोत्रा बताउँछन् । ‘सबैखाले ब्रान्ड चीनमा बन्छन्, हाम्रोमा आयात गर्न नजिक पनि छ, त्यसैले चीनबाट नै धेरै आउँछ,’ उनले भने ।
पछिल्लो समयमा नेपालमा स्मार्टफोनका प्रयोगकर्ता बढेकाले पनि आयात वृद्धि हुदै गएको हो । मोबाइल आवश्यकताको वस्तु बनेकाले आयात बढेको मलहोत्रा बताउँछन् । ‘बैंकमा तरलता अभाव हुँदा पनि मोबाइलको बिक्रीमा कमि आएको छैन,’ उनले भने, ‘यसले मोबाइल आवश्यकताको वस्तु भएको पुष्टी गर्छ ।’
स्रोत: Ekantipur

No comments: